भोली लुम्बिनी र पर्सी कोशीमा तीव्र हावाहरीको चेतावनी

1.3K

भोली लुम्बिनी र पर्सी कोशीमा तीव्र हावाहरीको चेतावनी

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई क्षेत्रसहित देशका विभिन्न भागमा तीव्र हावाहुरीको चेतावनी सहित सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाद्वारा बिहीबार बिहान जारी बुलेटिनअनुसार भोलि (चैत्र ०६ गते शुक्रबार) दाङ, नेपालगञ्ज लगायत लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा करिब ३३ मिटर प्रति सेकेण्ड (झण्डै ११९ किमि÷घण्टा) गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । त्यस्तै पर्सि (शनिबार) पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा पनि यस्तै प्रकारको तीव्र हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।
महाशाखाका अनुसार यस्तो हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत तथा सञ्चार सेवामा अवरोध आउने जोखिम रहेको छ । यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हिमाली क्षेत्रमा सामान्य बदली, कोशी प्रदेशको पहाडी भू–भाग र मधेशमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै, कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रिमनसुनको समय भएकाले विशेषगरी अपराह्नपछि हावाहुरीको सम्भावना बढी रहने पनि महाशाखाले जनाएको छ ।