शुद्ध हावाकालागि बुटवलमा नीति संवाद

1.3K

शुद्ध हावाकालागि बुटवलमा नीति संवाद

शुद्ध हावाकालागि बुटवलमा नीति सम्वाद कार्यक्रम गरिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा ‘आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम सञ्चालन गरेको सेतो गुराँस वालविकास केन्द्रले बुटवल उपमहानगरपालिकामा नीति सम्वाद गरेको हो ।
स्वास्थ्य प्रणाली सुदृढीकरण, घरायसी व्यवहार परिवर्तन तथा स्वच्छ हावा प्रवद्र्धन गर्ने उद्देश्यले सेतो गुराँस वालविकास केन्द्रले बेलायत सरकरको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफ.सि.डि.ओ.) अन्तरगत ‘ब्रेथ इनीसिएटिभ एन्ड इनोभेसन’ परियोजनाको सहयोगमा आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा कार्यक्रम सञ्चालन गरेको छ ।
सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम मुलतः स्वास्थ्य प्रणाली सुदृढीकरण, मानिसको व्यवहार परिवर्तन तथा नीतिगत सुधारलाई एकीकृत रूपमा अघि बढाउँदै बुटवल र सैनामैनाका बासिन्दालाई स्वच्छ वातावरण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिईएको प्रोजेक्ट कोर्डिनेटर निरञ्जन पोखरेलले बताए ।
सोही अन्तरगत नीति सम्वाद सुरु गरिएको हो । प्रदूषित हावा (वायु प्रदुषण)ले मानव स्वास्थ्यमा अल्पकालिन समयदेखि दीर्घकालीनसम्म गम्भीर असर पार्न सक्छ । प्रदूषित हावाले हाम्रो शरीरको प्रायः सबै अङ्गमा असर गर्छ । विशेष गरी फोक्सो र मुटुमा यसको असर बढी हुन्छ ।
वायु प्रदुषणका कारण श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु तथा रक्तनली सम्बन्धी समस्या, आँखामा समस्या, छालामा असर, नाक र घाँटीमा समस्या आउँछ । त्यस्तै फोक्सोको क्यान्सर, मुटु र फोक्सोको दीर्घ रोग, रोग प्रतिरोधात्मक क्षमता घट्ने लगायतका दीर्घकालीन गम्भीर समस्या सिर्जना गर्नुको साथै बालबालिकाको फोक्सो विकासमा असर गर्ने र वृद्धहरूमा पुराना रोग बल्झिने समस्या आउन सक्छ ।

विश्वमै बढ्दै गइरहेको वायुप्रदुषण नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो समयमा बायु मण्डलमा बायु प्रदुषण बढीरहेको छ । घरभित्र दाउरा तथा गुईठाको प्रयोगबाट उत्पन्न हुने धुवा, उद्योग तथा कलकारखाना, ईन्धनबाट चल्ने सवारी साधनले उत्सर्जन गर्ने धुवाँ, फोहोरमैला जलाउँदा उत्पन्न हुने धुवाँ, डडेलो तथा धुवाँ धुलोका कारण वायु प्रदुषण बढी रहेको छ । यसलाई रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा नीति सम्वाद केन्द्रित रहेको प्रोजेक्ट कोर्डिनेटर पोखरेलले बताए । उनका अनुसार यो कार्यक्रम सकिदासम्म स्वास्थ्यकर्मी र आम नागरिकलाई प्रशिक्षण तथा सचेतना गरिने छ, स्वास्थ्य संस्थाको सेवा प्रवाहमा गुणात्मक सुधार तथा प्रदुषण न्यूनिकरण गर्न मद्धत गर्ने गरि नीति तय गरिने छ ।
स्वच्छ हावा पाउनुपर्ने मानिसको नैसर्गिक अधिकार हो । स्वच्छ हावा पाउनु पर्ने अधिकार नेपालको संविधानमा पनि नागरिक अधिकारको रुपमा सुरक्षित गरिएको छ । तर नेपालमा वायु प्रदुषणको जोखिम उच्च छ । नीति सम्वाद कार्यक्रममा समुहगत विभाजन गरि छलफल गरिएको थियो ।
नीति सम्वाद कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्वच्छ हावा पाउनु मानिसको नैसर्गिक अधिकार भएपनि बढ्दै गईरहेको वायु प्रदुषणले मानिसको स्वच्छ हावा पाउनुपर्ने अधिकारलाई चुनौती थपिदिएको बताईन् । उनले स्वच्छ हावाका लागि सबैभन्दा पहिले मानिसको वानीव्यवहारमा सुधार गर्नुपर्ने बताउँदै त्यसका लागि पनि सरकारको तर्फबाट प्रष्ट नीति हुनुपर्ने भनाई राखिन् ।
सेतो गुराँसकी अध्यक्ष उमा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, फेमिलि हेल्थ इन्टरनेशनल (एफ.एच.आई.–३६०) विज्ञ विजया राजबैद्यले स्वच्छ हावाको महत्व, वायु प्रदुषणको कारण, यसबाट उत्पन्न हुने जनस्वास्थ्यका समस्याहरु र वायु प्रदुषण नियन्त्रणका उपाय तथा सरकारले लिनुपर्ने नीतिका बारेमा जानकारी गराएका थिए ।