नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीको प्रदेश अधिवेशन चैत २१ गते हुने

1.3K

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीको प्रदेश अधिवेशन चैत २१ गते हुने

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशन यहि चैत २१ गते हुने भएको छ । गत माघ १७ गते तय गरिएको महासंघ लुम्बिनी प्रदेशको आठौँ प्रदेश सभा तथा चौथो निर्वाचन (अधिवेशन) कार्यक्रम प्रतिनिधि सभा निर्वाचनको आचारसंहिताका कारण स्थगित गरिएको थियो ।
महासंघ लुम्बिनीले मातहतका जिल्ला नगर उद्योग वाणिज्य संघ तथा एशोसियट सदस्यहरुलाई सोही अनुसार परिपत्र गरी आठौँ प्रदेश सभा तथा चौथो निर्वाचन रुपन्देहीको भैरहवास्थित प्रदेश सचिवालय गरिने जानकारी गराएको छ । बिहान साढे ९ बजेको लागि तय गरिएको सभाको उद्घाटन पश्चात हुने बन्दसत्रमा अध्यक्षद्वारा सम्बोधन, गणपूरक संख्याको जानकारी, वार्षिक प्रतिवेदन प्रस्तुत, आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि लेखा परीक्षक नियुक्ति लगायतका एजेन्डा समावेश गरिएको छ ।
सभामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मुख्य प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था छ भने अन्य प्रतिनिधिहरूका लागि पनि निश्चित संख्या तोकिएको छ । सहभागी हुन प्रतिनिधिहरूले वार्षिक सदस्यता शुल्क तिरेको हुनुपर्ने र प्रतिनिधि शुल्क तिर्नुपर्ने छ । त्यसका लागि १ हजार ५ सय रुपैंया प्रतिनीधि शुल्क निर्धारण गरिएको छ ।
सभा तथा अधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरिने छ । निर्वाचनमा उम्मेदवार बन्न इच्छुक संघ÷संस्थाहरूले आवश्यक कागजातसहित चैत १५ गतेभित्र मनोनयन दर्ता गराउनु पर्नेछ । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि फरक–फरक मनोनयन शुल्क तोकिएको छ । उम्मेद्वारी दिएको व्यक्तक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिएपनि बुझाएको शुल्क फिर्ता नहुनेगरी अध्यक्ष पदमा १ लाख ५० हजार रुपैंया, उपाध्यक्ष र कोषाध्यक्ष पदमा जनही ७५ हजार रुपैंया तथा कार्यकारिणी सदस्य पदमा ४० हजार रुपैंया शुल्क निर्धारण गरिएको छ ।