सुनको मुल्यमा भारी गिरावट आएको छ । गएको माघ १५ गते हालसम्मकै उच्च मुल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैंयामा कारोवार भएको सुनको मुल्य आज सोमबारका लागि २ लाख ७५ हजार ५ सय रुपैंया निर्धारण गरिएको छ ।
२ महिनाकै अन्तरालमा उच्च विन्दुबाट निरन्तर ओरालो लागेको सुन आईतबार तोलामा २ लाख ८२ हजारमा कारोवार भएको थियो भने त्यसभन्दा अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैंयाले गिरावट आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । गत सोमबार ३ लाख ९ हजार ५ सय रुपैंयामा कारोवार भएको सुन एक साताकै अवधिमा तोलामा ३४ हजार रुपैयाँ सस्तीएको हो ।
उच्च मूल्यबाट निरन्तर घट्दो क्रममा रहेको सुन बजारले अहिले नयाँ मोड लिएको छ । अन्तर्राष्ट्रिय बजारका कारण पनि सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ । पश्चिम एसियाली मुलुकहरूमा बढ्दो द्वन्द्वका कारण तेलको मूल्य महँगिँदा विभिन्न देशहरूलाई अमेरिकी डलरको आवश्यकता बढेको छ ।
डलरको माग बढेसँगै सुन बिक्री गरेर डलर जोहो गर्ने प्रवृत्ति बढ्दा सुनको भाउमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसैगरी, विश्वव्यापी रूपमा बढ्दो मूल्यवृद्धि र त्यसलाई नियन्त्रण गर्न बढाइएको ब्याजदरले पनि सुनचाँदी बजारमा नकारात्मक प्रभाव पारेको छ ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।