नेपाली काँग्रेसले पार्टीकाे १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेकाे छ । सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीकाे १५औं महाधिवेशन आगामी असोज १६ देखि १९ गते सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको हाे ।
महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति गठन गरिनेछ, जसको संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई अनुमोदन गरिएको छ ।
पार्टीभित्र नेतृत्व विकासका लागि ‘काँग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने, भ्रातृ संगठनहरूको अवस्था अध्ययन गर्ने, सांसद अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय पनि गरिएको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछिको रणनीति तय गर्दै आगामी कार्यदिशा तय पारेको हो । नेपाली काँग्रेसले समग्रमा संगठन सुदृढीकरण, सुशासन, संविधान सुधार र राष्ट्रिय मुद्दामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनको राजनीतिक मार्गचित्र तय गरेको जनाएको छ ।
बैठकले निर्वाचनमार्फत अभिव्यक्त जनमतप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएको छ भने नयाँ सरकारले लोकतान्त्रिक मूल्य, सुशासन र सेवा प्रवाहमा ध्यान दिने विश्वास गरेको छ । साथै काँग्रेसले निर्वाचन परिणामको गहिरो समीक्षा गर्दै देशभरका १६५ निर्वाचन क्षेत्रमा अध्ययन तथा छलफल गर्ने निर्णय गरेको छ ।
मध्यपूर्वमा बढ्दो संकटले नेपाली अर्थतन्त्र, रोजगारी र आपूर्ति प्रणालीमा असर पार्न सक्ने भन्दै त्यसको सामना गर्न सरकारसहित सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिइएको छ ।
बैठकले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति दोहोर्याउँदै २०४८ सालयता उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । साथै विगतका सबै भ्रष्टाचार प्रकरणहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।
संविधान संशोधनका विषयमा अध्ययन गर्न उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको समिति गठन गर्ने निर्णय गरिएको छ भने प्रदेश र स्थानीय तहमा पार्टीको भूमिका थप प्रभावकारी बनाउन उपसभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ ।
संगठन सुदृढीकरणअन्तर्गत काँग्रेसले २०८३ वैशाखमा देशभरका सबै वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने र नयाँ ‘काँग्रेस आईडी’ वितरण गर्ने निर्णय गरेको छ ।
बैठकले सुर्खेतमा एक किशोरीमाथि भएको जघन्य अपराधप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।