आज चैते दसैँ

1.3K

आज चैते दसैँ

चैत्र शुक्ल अष्टमीका अवसरमा मनाइने चैते दसैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा-आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ । यस पर्वमा विशेषगरी अष्टमी र नवमीलाई महत्वका साथ मनाउने गरिन्छ ।
हिन्दू परम्पराअनुसार वर्षमा चार नवरात्र पर्ने भए पनि असोज शुक्ल पक्षको बडादसैँ जस्तै चैत्र नवरात्र (चैते दसैँ) पनि शक्तिको आराधनाका लागि महत्वपूर्ण मानिन्छ । बडादसैँमा जस्तो टीका-जमरा लगाउने परम्परा धेरै घरमा नदेखिए पनि देवीको पूजा, उपासना र परिवारबीच जमघट हुने चलन भने कायम छ ।
हनुमानढोका दरबार स्थित दसैँघरमा घटस्थापना गरी विधिपूर्वक पूजा तथा अष्टमीका दिन बलि दिने परम्परा आज पनि निरन्तर छ । नवमीका दिनलाई राम नवमीका रूपमा मनाइन्छ, जुन त्रेतायुगमा भगवान श्रीरामको जन्मसँग सम्बन्धित छ ।
चैते दसैँको मूल उद्देश्य पनि बडादसैँझैँ सुख, शान्ति र समृद्धिको कामना गर्नु हो । यस अवसरमा भक्तजनले शक्तिपीठहरूमा पूजा-अर्चना गरी मनोकामना पूरा हुने विश्वास राख्ने गरेका छन् ।
काठमाडौं उपत्यकास्थित गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, नक्साल भगवती मन्दिर, भद्रकाली मन्दिर लगायतका शक्तिपीठमा विशेष पूजाआजा भइरहेको छ । त्यस्तै उपत्यकाबाहिरका मनकामना मन्दिर, पालाञ्चोक भगवती मन्दिर, शैलेश्वरी मन्दिर लगायतका शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ ।
धार्मिक विश्वासअनुसार चैत्र नवरात्रका अवसरमा देवीको पूजा-अर्चना र दर्शन गरेमा शक्ति प्राप्त हुने तथा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।