नेपालको कार्यकारी नेतृत्व आज औपचारिक रूपमा नयाँ पुस्ताको हातमा जाँदैछ । ३६ वर्षीय बालेन्द्र शाह (बालेन)ले आज प्रधानमन्त्री पदमा नियुक्त हुनेछन् भने आजै शपथ ग्रहण गर्नेछन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा ठीक १२ बजेर ३४ मिनेटमा शपथ समारोह हुने छ । सात वटा शंखको ध्वनि, १०८ बटुकद्वारा स्वस्ती वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठसहित बालेनले प्रधानमन्त्री पदका शपथ लिन लागेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । त्यसलगत्तै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ हुनेछ । शपथअघि नै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ ।
नयाँ प्रधानमन्त्री बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित कार्यालयमा पद बहाली गर्दै कार्यभार सम्हाल्ने कार्यक्रम तय गरिएकाे छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्पष्ट बहुमतसहित आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक एकल सरकार गठन गर्न लागेको हो । १८२ सिट जितेको दलले बिहीबार मात्रै बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो ।
झापा–५ बाट ६८ हजार ३४८ मतसहित विजयी बालेनको उदयलाई परम्परागत राजनीतिमा नयाँ धारको रूपमा हेरिएको छ । युवा नेतृत्वप्रतिको जनविश्वास र परिवर्तनको अपेक्षाबीच उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।
शपथ समारोहमा राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोग, नागरिक समाज र उच्च सरकारी अधिकारीहरूको उल्लेख्य उपस्थिति रहनेछ ।