नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेनलाई यसअघि नै राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६(१) बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । संविधान जारी भएयता उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो ।
३६ वर्षीय शाह काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका थिए । पहिलोपटक संसद् प्रवेशसँगै प्रधानमन्त्री बन्ने दुर्लभ उपलब्धि उनले हासिल गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।