पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ

1.3K

पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धान गर्न प्रहरीले दुवै नेतालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अपराध अनुसन्धान कार्यालय टेकुबाट सन्तोष खड्का नेतृत्वको टोलीले गुण्डुस्थित निवासबाट ओलीलाई पक्राउ गरेको हो । त्यस्तै, लेखकलाई भक्तपुरको कुटुन्जेस्थित निवासबाट आज बिहानै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गठित गाैरीबहादुर कार्की नेतृत्वकाे जाँचबुझ आयोगको प्रतिवेदनले ओली, लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याईं गरी ज्यान मार्न नहुने’ कसुर लागेको औंल्याएको थियो । यद्यपि उक्त प्रतिवेदन ओैपचारिक रुपमा सार्वजनिक गरिएकाे छैन । सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।
यसैबीच, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै गृहमन्त्री सुदन गुरुङले घटनाको अनुसन्धान तीव्र बनाउन निर्देशन दिएका थिए । त्यसपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार मृतक तथा घाइतेका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको हो । उनीहरुलाई जरुरी पूर्जीका आधारमा पक्राउ गरिएको बताइएको छ ।
नेपालको इतिहासमा कार्यकारी प्रमुख रहिसकेको व्यक्ति ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ परेको यो पहिलो घटना हाे । पक्राउपछि दुवै नेताको स्वास्थ्य परीक्षण गरी हिरासतमा राखिनेछ र २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने प्रहरीकाे तयारी छ ।