पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेका लु२ख २३५१ नम्बरको बस र ना५ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
ठक्करपछि बस करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बस काठमाडौंबाट रोल्पातर्फ जाँदै थियो ।
दुर्घटनामा रोल्पा बागमाराका करिब २५ वर्षीय गोबिन बुढाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी छ । उनीहरूको शव जिल्ला अस्पतालमा राखिएको छ ।
घाइतेहरूको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।
लुम्बिनी सिटी अस्पतालमा उपचाररत घाइतेहरूमा रोल्पा, कञ्चनपुर, काठमाडौं, दाङ लगायतका विभिन्न जिल्लाका यात्रु रहेका छन् । बस चालक हिमाल घर्तीमगर, ट्रक चालक सागर चौधरीसहित अन्य यात्रुहरू घाइते भएका छन् ।
त्यस्तै, चिसापानी अस्पतालमा चितवनका विशाल चेपाङ र पिकअप चालक आशिक गुरुङको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।