देश फेरी अस्थिरतातर्फ जाने देखियाे : सरकारलाई संयन्मित र जिम्मेवार बन्न काँग्रेसकाे आग्रह

1.3K

देश फेरी अस्थिरतातर्फ जाने देखियाे : सरकारलाई संयन्मित र जिम्मेवार बन्न काँग्रेसकाे आग्रह

पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै नेपाली काँग्रेसले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष, पारदर्शी र कानुनसम्मत छानबिन गर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा काँग्रेसले सुरुदेखि नै दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने अडानमा दृढ रहेको उल्लेख गरिएको छ । भदौ २५ गते नै उच्चस्तरीय आयोग गठनको माग गरेको काँग्रेसले भदौ २७ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको स्मरण गराएको छ ।
काँग्रेसले हाल सार्वजनिक भएको भनिएको जाँचबुझ प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै सरकारको प्रक्रियालाई अपारदर्शी भनेको छ । पार्टीले प्रतिवेदन विधिसम्मत रूपमा अझै सार्वजनिक नगरिएको र यसले जनविश्वास कमजोर बनाएको टिप्पणी गरेको छ ।
विज्ञप्तिमा सञ्चारमाध्यममा आएका विवरणअनुसार आयोगले भदौ २३ का घटनालाई प्राथमिकताका साथ हेरे पनि २४ गतेका घटनालाई बेवास्ता गरेको देखिएको उल्लेख गर्दै यसलाई “विधिको शासन विपरीत र त्रुटिपूर्ण” भनिएको छ । प्रतिवेदन अपूर्ण र एकपक्षीय देखिएको भन्दै यसले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको काँग्रेसको भनाइ छ ।
त्यस्तै, मन्त्रिपरिषद्को हालैको निर्णयप्रति पनि काँग्रेसले आपत्ति जनाएको छ । एउटै प्रतिवेदनका आधारमा सरकारको व्यवहार “सेलेक्टिभ” देखिएको भन्दै सुरक्षा निकायका विषयमा मात्र अध्ययन समिति गठन गर्ने तर अन्यमा तत्काल कार्यान्वयन गर्ने निर्णयले कानुनी प्रक्रिया कमजोर बनाउने चेतावनी दिइएको छ ।
काँग्रेसले भदौ २३ को घटनामा राज्य शक्तिको दुरुपयोग र २४ गतेको आगजनी तथा विध्वंशका घटनामा संलग्न सबैलाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएको छ । “दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ । पार्टीले हतारमा गरिने निर्णयले न्याय प्रक्रियामा असर पर्ने र देश पुनः अस्थिरतातर्फ जान सक्ने भन्दै सरकारलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ ।