सकियो क्यान बि-टु-सी समिट

1.3K

सकियो क्यान बि-टु-सी समिट

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यसहित कम्प्युटर एशोसिएसन नेपाल महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा सञ्चालन भएको ‘डी–म्याक्स डिजिटल बि–टु–सी समिट’ सकिएको छ ।
चैत १३ र १४ गते बुटवलको मिलनचोकस्थित सिद्धार्थ कटेजको सभाहलमा आयोजित दुई दिने समिटमा सूचना प्रविधिका नवीनतम् प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिएको थियो ।
समिटमा हार्डवेयर, सफ्टवेयर, पावर सोलुसनलगायत विभिन्न प्रविधिसम्बन्धी २८ वटा स्टल राखिएका थिए । कार्यक्रममा क्यान महासंघका सदस्य संस्थासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूको सहभागिता रहेको थियो ।
क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटले विश्व बजारमा आएका नयाँ प्रविधिबारे जानकारी गराउनुका साथै व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने र उपभोक्ता तथा व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
समिटको टाइटल स्पोन्सर डी–म्याक्स डिजिटल र एसोसिएट स्पोन्सर क्लाउड लिंक प्रा.लि. रहेका थिए भने एचएमसी नेपाल प्रा.लि. प्लाटिनम स्पोन्सरका रूपमा सहभागी भएको थियो । यसैगरी कम्प्युटेक, हाइ–टेक इन्जिनियरिङ प्रा.लि. गोल्ड स्पोन्सर तथा अन्य विभिन्न कम्पनीहरू सिल्भर स्पोन्सरका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा सूचना प्रविधिसम्बन्धी सामग्रीहरूको प्रत्यक्ष बिक्री भने नगरिए पनि बुकिङको सुविधा उपलब्ध गराइएको थियो ।
समिटको अन्तिम दिन चैत १४ गते व्यवसायीहरूबीच अन्तरक्रिया गराउने उद्देश्यले ‘बि–टु–बि समिट’ समेत आयोजना गरिएको थियो, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय आयातकर्ताबीच समन्वय र सहकार्य बढाउने विश्वास गरिएको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त समिटमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी, शैक्षिक संस्था, आईटी विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।