उत्पादक र उपभोक्ता बिचको पुल हाटबजारको व्यवस्थापनमा सरकारको ध्यानकर्षण

1.3K

उत्पादक र उपभोक्ता बिचको पुल हाटबजारको व्यवस्थापनमा सरकारको ध्यानकर्षण

बस्तुको उत्पादक र उपभोक्ता विचको पुलको रुपमा विकास भईरहेको हाटबजारको व्यवस्थापनका लागि व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
हाटबजार व्यवसायी संघ रुपन्देहीको आईतबार बुटवलमा भएको २०औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने व्यवसायीहरुले सदियौंदेखि सञ्चालनमा रहेका हाटबजारको व्यवस्थापनमा सरकारले ध्यान दिन नसकेको गुनासो गरेका हुन् । उनीहरुले हाटबजारलाई व्यवस्थित बनाउन आधारभूत पूर्वाधार विकास, खानेपानी, शौचालय, विद्युत लगायतका सुविधाहरुको समुचित व्यवस्थापनमा ध्यान दिन सरकारसंग माग गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले हाटबजारमा औद्योगिक उत्पादनसंगै किसानका उत्पादनले समेत बजार पाईरहेको बताउँदै हाटबजारको व्यवस्थापनका लागि नगरपालिकाले जिम्मेवारी बोध गरेको जानकारी गराए । उनले बुटवल उपमहानगरपालिका भित्र रहेका हाटबजारको व्यवस्थापनको लागि विगतका वर्षमा बजेट विनियोजन भएपनि प्राविधिक कारणले कार्यान्वयन हुन नसकेको बताउँदै आगामी दिनमा त्यस्ता प्राविधिक कुराहरुलाई समेत मिलाएर हाटबजार व्यवस्थापनको प्रकृया अंगाडी बढाइने बताए । उनले समस्याको समाधानका लागि व्यवसायिक संस्थाले पनि सुधारका खाका बनाएर सुझाउन सल्लाह दिए ।
कार्यक्रममा बोल्दै हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हुमाराम पोखरेलले स्थानीय अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनका अनुसार रुपन्देहीमा हाल १२२ स्थानमा हाटबजार सञ्चालनमा छन्, जसबाट हजारौं व्यवसायी, किसान र लाखौं उपभोक्ता लाभान्वित भएका छन् । हाटबजारले किसानलाई बजार पहुँच दिलाउनुका साथै उपभोक्तालाई ताजा तथा सुलभ मूल्यका वस्तु उपलब्ध गराएको पनि उनले बताए ।
अध्यक्ष पोखरेलले हाटबजार क्षेत्रमा आधारभूत पूर्वाधार अभाव रहेको उल्लेख गर्दै खानेपानी, शौचालय, विद्युत् लगायत सुविधाको विकासमा राज्यले ध्यान दिनुपर्ने माग गरे । साथै हाटबजार पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनका अनुसार संघमा हाल ४ हजार ५ सय सदस्य छन् भने १० हजार भन्दा बढीले हाटबजारमा व्यवसाय गर्दै आएका छन् ।
त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले हाटबजारलाई व्यवस्थित बनाउने कुरामा नगरपालिका तयार रहेको बताईन् । कार्यक्रममा बुटवल नगरपालिकाका पूर्वप्रमुख पुनाराम पोखरेल, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, हाटबजार व्यवसायी संघका पूर्वअध्यक्ष भीमलाल ज्ञवाली, निवर्तमान अध्यक्ष टेकबहादुर जिसी, किसाना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपालप्रसाद प्रधान, लुम्बिनी फलफूल, तरकारी थोक व्यवसायी संघका अध्यक्ष नुरुद्धिन साह, संघका महासचिव जयन्त घर्तीलगायतले समयको विकासक्रमसंगै हाटबजारलाई व्यवस्थित बनाउनु पर्ने भनाई राखेका थिए ।
साधारण सभा तथा अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने निर्वाचन समिति संयोजक कृष्ण चौहानले जानकारी गराए ।