पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा समीरमान सिंह

1.3K

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा समीरमान सिंह

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा समीरमान सिंह निर्वाचित भएका छन् । निवर्तमान महासचिवसमेत रहेका सिंहले ५७९ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।
निर्वाचनमा उनका प्रतिस्पर्धी तथा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईले ५११ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत टंक पन्थले जानकारी दिए । उनका अनुसार कुल १ हजार ११२ मत खसेकोमा २२ मत बदर भएको थियो ।
संघको वाणिज्य उपाध्यक्षमा ५३१ मतसहित रञ्जना अर्याल निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी सुरेन्द्र कर्माचार्यले ३३६ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा मुक्तिराम जिसी भने निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रगत रूपमा सम्पन्न निर्वाचनबाट सदस्यहरूमा कमलप्रसाद पाण्डे, जीवन पाण्डे, विदूर घिमिरे, सुरेश गोदार, मोहनबहादुर कुँवर, सविन मल्ल, नारायण पछाई, नारायण न्यौपाने, विनोद नेपाल र विश्व केसी निर्वाचित भएका छन् ।
संघको महासचिव, सचिव र कोषाध्यक्ष पदमा निर्वाचित सदस्यहरूमध्येबाट कार्यसमितिले चयन गर्ने वैधानिक व्यवस्था रहेको छ । पाल्पा उद्योग वाणिज्य संघ पाल्पा जिल्लाका उद्योगी-व्यवसायीहरूको छाता संगठन हो ।