राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरिएको हो । सर्वोच्च प्रशासनका अनुसार बहसपछिको आदेशअनुसार अब विस्तृत सुनुवाइ पूर्ण इजलासले गर्नेछ ।
यसअघि पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकालमा लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।
उक्त निर्णयविरुद्ध अधिवक्ताहरू युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । अब पूर्ण इजलासमा हुने सुनुवाइले उक्त निर्णयको वैधताबारे अन्तिम टुंगो लगाउने छ ।