काँग्रेसमा फेरि किचलो

1.3K

काँग्रेसमा फेरि किचलो

नेपाली काँग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीचको विवाद फेरि सतहमा आएको छ । इतर समूहले समानान्तर गतिविधि तीव्र बनाएसँगै चुनावताका केही मत्थर देखिएको आन्तरिक किचलो पुनः चर्किएको हो ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणपछि इतर समूहका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि विवाद झनै छताछुल्ल भएको छ । उक्त घटनामा संस्थापन र इतर समूहबीच दृष्टिकोणसमेत फरक देखिएको छ । इतर समूह आक्रामक रूपमा प्रस्तुत हुँदा संस्थापन पक्ष भने तुलनात्मक रूपमा नरम देखिएको छ ।
लेखक पक्राउ परेकै दिनदेखि इतर समूहले पार्टीको आधिकारिक शैलीमै गतिविधि अघि बढाएको छ । खड्काले पार्टीकै लेटरप्याड प्रयोग गरी धारणा सार्वजनिक गर्दा संस्थापन पक्षले भने लेखकको नामसमेत उल्लेख नगरी विज्ञप्ति जारी गरेको थियो । काँग्रेसले सरकारको कदमलाई ‘सेलेक्टिभ’ भने पनि आन्दोलनका कार्यक्रम भने घोषणा गरेन ।
विशेष महाधिवेशनपछि सभापतिमा गगन थापा चयन भएको सन्दर्भमा खड्काले पहिलोपटक कार्यवाहक सभापतिको नाममा कडा वक्तव्य दिएका थिए । उनले लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने जनाउँदै नेता-कार्यकर्तालाई तयारी अवस्थामा रहन आह्वान गरेका थिए ।
यसैबीच इतर समूहले समानान्तर गतिविधिअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रमसमेत आयोजना गरेको छ । कार्यक्रममा खड्का र शेखर कोइरालाले सम्बोधन गरेका थिए भने निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूको पनि सहभागिता रहेको थियो ।
समानान्तर गतिविधि बढेसँगै पार्टीभित्र अनुशासनको विषयसमेत उठेको छ । खड्काले कार्यवाहक सभापतिको हैसियतमा बैठक आह्वान गरेपछि उनको क्रियाशील सदस्यताका बारेसमेत छलफल सुरु भएको छ । केही नेताहरूले यस्ता गतिविधि जारी रहे कारबाही हुनसक्ने संकेत गरेका छन् ।
खड्काले भने अदालतको अन्तिम निर्णय नआएसम्म आफू कार्यवाहक सभापति रहेको दाबी दोहोर्‍याएका छन् । उनले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको र फैसला नआएसम्म आफ्नो जिम्मेवारी कायम रहने बताएका छन् ।
उता सभापति थापाले सानेपामा पदाधिकारी बैठक राखी पार्टीभित्र बढ्दो विवादबारे छलफल गरेका छन् । काँग्रेसले इतर समूहको गतिविधिलाई ‘अवैधानिक’ ठहर गर्दै अनुशासन समितिको बैठकसमेत बोलाएको छ । यसरी दुवै पक्ष आ-आफ्नो अडानमा उभिँदा नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद अझै चर्किने संकेत देखिएको छ ।