बिहीबारदेखि संघीय संसद् अधिवेशन हुँदै

1.3K

बिहीबारदेखि संघीय संसद् अधिवेशन हुँदै

संघीय संसद्को नयाँ अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक संसद् अधिवेशन बस्न लागेको हो ।
संविधानको धारा ९३(१) अनुसार राष्ट्रपतिले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार चैत ५ मा अन्तिम परिणाम घोषणा भएपछि अधिवेशन बोलाइएको हो ।
नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले सोमबार अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । उनले चैत १३ मा पदभार ग्रहण गर्दै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
आगामी अधिवेशनको मुख्य कार्यसूचीमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचन रहनेछ । संविधानको धारा ९१ अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र यी पदहरूको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । साथै, सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक-फरक दलबाट हुनुपर्ने प्रावधान रहेको छ ।
प्रतिनिधिसभामा बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पाउने लगभग निश्चित छ । पार्टीभित्र उपसभापति तथा पूर्वमन्त्री डीपी अर्याल सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् । अन्य दलहरूमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको प्रतिनिधित्व छ भने महावीर पुन स्वतन्त्र सांसदका रूपमा छन् ।
पहिलो अधिवेशनमा सभामुख निर्वाचनसँगै संसद् नियमावली निर्माण वा संशोधन, संसदीय सुनुवाइ समिति गठन तथा आवश्यक विधेयक प्रस्तुत गर्ने तयारी गरिएको छ । संविधानको धारा २९२ अनुसार संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ आवश्यक हुने भएकाले १५ सदस्यीय समिति गठन गरिनेछ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका अनुसार आवश्यकता अनुसार यस अधिवेशनमै विधेयकहरू पनि संसद्मा पेस गरिनेछ । सरकारका विभिन्न मन्त्रालयहरू आवश्यक ‘बिजनेस’ दिन तयारी अवस्थामा रहेको जनाइएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सांसदहरूलाई काठमाडौँ उपस्थित हुन सूचना जारी गरिएको बताए । पहिलो बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने सम्भावना रहेको छ ।