स्वच्छ हावाका लागि बुटवलमा प्रदेश स्तरीय नीति सम्बाद

1.3K

स्वच्छ हावाका लागि बुटवलमा प्रदेश स्तरीय नीति सम्बाद

स्वच्छ हावाका लागि मंगलबार बुटवलमा नीति सम्वाद कार्यक्रम गरिएको छ । ‘नेपालका आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम सञ्चालन गरेको सेतो गुराँस वालविकास सेवाले लुम्बिनी प्रदेश स्तरीय नीति सम्वाद गरेको हो । स्वास्थ्य प्रणाली सुदृढीकरण, घरायसी व्यवहार परिवर्तन तथा स्वच्छ हावा प्रवर्द्धन गर्ने उद्देश्यले सेतो गुराँस वालविकास केन्द्रले बेलायत सरकरको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) अन्तरगत ‘ब्रेथ इनिसिएटिभ एन्ड इनोभेसन’ परियोजनाको सहयोगमा रुपन्देही बुटवल र सैनामैाम नगरपालिकामा आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमले स्थानीय बासिन्दालाई स्वच्छ वातावरण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिईएको छ । सोही अन्तरगत नीति सम्वाद सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै वातावरण इन्जिनियर भूषण तुलाधरले काठमाडौंसहित तराईका सहरमा वायु प्रदुषणको नियन्त्रण नहुँदा स्वास्थ्यमा ठूलो जोखिम निम्ताएको बताए ।  तुलाधरले प्रदूषित हावा (वायु प्रदुषण)ले मानव स्वास्थ्यमा अल्पकालिन समयदेखि दीर्घकालीनसम्म गम्भीर असर पुर्याउने बताउदै दूषित वायुले मानव शरीरको प्रायः मुटु, फोक्सो, मस्तिस्कदेखि नवजात शिशुमा गम्भीर असर पुर्याइरहेकोले यसको रोकथामका उपचार चाल्न आवश्यक रहेको बताए । वातावरण विभागका अधिकृत विष्णु पाण्डेले प्रदुषण रोकथाम र न्यूनीकरणका लागि विभिन्न आयोजना, सवारीको जाँच लगायतका काम गर्दै आएको बताए । उनले वायु गुणस्तर व्यवस्थापन प्रणाली बनाउने तयारी भएको बताउदै त्यसमा विभिन्न क्षेत्रका सुझावहरु समावेश गरिने बताए ।
सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम मुलतः स्वास्थ्य प्रणाली सुदृढीकरण, मानिसको व्यवहार परिवर्तन तथा नीतिगत सुधारलाई एकीकृत रूपमा अघि बढाउँदै रुपन्देहीको बुटवल उपमहानगरपालिका र  सैनामैना सैनामैना नगरपालिकामा सञ्चालनमा छ । कार्यक्रमले स्थानीय बासिन्दालाई स्वच्छ वातावरण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिईएको प्रोजेक्ट कोर्डिनेटर निरञ्जन पोखरेलले बताए ।

वायु प्रदुषणका कारण श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु तथा रक्तनली सम्बन्धी समस्या, आँखामा समस्या, छालामा असर, नाक र घाँटीमा समस्या निम्ताउछ ।  त्यस्तै फोक्सोको क्यान्सर, मुटु र फोक्सोको दीर्घ रोग, रोग प्रतिरोधात्मक क्षमता घट्ने लगायतका दीर्घकालीन गम्भीर समस्या सिर्जना गर्नुको साथै बालबालिकाको फोक्सो विकासमा असर गर्ने र वृद्धहरूमा पुराना रोग बल्झिने समस्या आउन सक्छ । सेतो गुराँस बाल विकास सेवाकी कार्यकारी निर्देशक सुमित्रा शर्माले विश्वमै बढ्दै गइरहेको वायुप्रदुषण नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
घरभित्र दाउरा तथा गुईठाको प्रयोगबाट उत्पन्न हुने धुँवा, उद्योग तथा कलकारखाना, इन्धनबाट चल्ने सवारी साधनले उत्सर्जन गर्ने धुवाँ, फोहोरमैला जलाउँदा उत्पन्न हुने धुवाँ, डडेलो तथा धुवाँ धुलोका कारण वायु प्रदुषण बढी रहेको छ । स्वच्छ हावा पाउनुपर्ने मानिसको नैसर्गिक अधिकार हो । स्वच्छ हावा पाउनुपर्ने अधिकार नेपालको संविधानमा पनि नागरिक अधिकारको रुपमा सुरक्षित गरिएको छ । तर, नेपालमा वायु प्रदुषणको जोखिम उच्च छ । नीति सम्वाद कार्यक्रममा समूहगत विभाजन गरी छलफल गरिएको थियो । सेतो गुराँस बाल बिकास सेवाकी अध्यक्ष उमा भण्डारीले स्वच्छ हावाको महत्व, वायु प्रदुषणको कारण, यसबाट उत्पन्न हुने जनस्वास्थ्यका समस्याहरु र वायु प्रदुषण नियन्त्रणका उपाय तथा सरकारले लिनुपर्ने नीतिका बारेमा गम्भीर समिक्षा गरेर एउटा निश्कर्षमा पुग्नुपर्ने बताईन ।