एसईई परीक्षाकाे तयारी पूरा

1.3K

एसईई परीक्षाकाे तयारी पूरा

माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबारदेखि देशभर सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो सातामै परीक्षा हुनुपर्ने भए पनि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा तालिका सारेर चैत १९ गतेबाट सञ्चालन गर्न लागिएको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार ७७ वटै जिल्लाबाट तयारी पूरा भएकाे छ ।
उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्षहरू नियुक्त भई सम्बन्धित केन्द्रमा खटिइसकेका छन् । परीक्षा सञ्चालनका लागि आवश्यक कर्मचारी तथा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
यस वर्ष एसईई सञ्चालनका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन्, जसमध्ये एउटा केन्द्र जापानमा पनि रहेको छ । कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य रहेका छन् । जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन् ।
पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । बाेर्डले केन्द्राध्यक्षको प्रत्यक्ष निगरानीमा उत्तरपुस्तिका परीक्षण गरिने व्यवस्था मिलाएकाे जनाएको छ ।