एसईईकाे उत्तरपुस्तिका सेन्टरमै परीक्षण गरिने

1.3K

एसईईकाे उत्तरपुस्तिका सेन्टरमै परीक्षण गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका यस वर्ष देशभरका परीक्षा केन्द्र (सेन्टर) मै परीक्षण गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका अधिकतम ३ दिनभित्र सम्बन्धित केन्द्रमै जाँच गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।
शिक्षा सचिव चुणामणी पौडेलका अनुसार केन्द्रमै परीक्षण सम्भव नभएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गर्न सकिनेछ । केन्द्रमै जाँच गर्ने वा इकाईमा ल्याएर गर्ने भन्ने निर्णय सम्बन्धित इकाईलाई नै दिइएको बोर्डले जनाएको छ । तोकिएको समयभित्रै परीक्षण सम्पन्न गरी प्राप्ताङ्क बोर्डमा पठाउनु पर्नेछ ।
उत्तरपुस्तिका परीक्षणपछि सम्बन्धित इकाईले विद्यार्थीको प्राप्ताङ्क बोर्डमा पठाउनेछ । त्यसपछि प्राप्ताङ्क इन्ट्री र रुजु प्रक्रिया पूरा गरी नतिजा प्रकाशन गरिनेछ । बोर्डले नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य राखेको छ, जसअनुसार वैशाख मसान्तसम्म नतिजा आउने अपेक्षा गरिएको छ ।
यस वर्ष देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । अघिल्ला वर्षहरूमा भने केन्द्रबाट उत्तरपुस्तिका संकलन गरी अन्तर जिल्ला वा प्रदेशमा परीक्षण गर्ने प्रचलन थियो, जसले गर्दा नतिजा प्रकाशनमा औसत साढे दुई महिना समय लाग्ने गरेको थियो । यसपटक शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार छिटो नतिजा सार्वजनिक गर्न नयाँ व्यवस्था लागू गरिएको हो ।
आज बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी रहेका छन् ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी तथा सुरक्षाकर्मी गरी करिब ७३ हजार जनशक्ति परिचालन गरिने भएको छ । सबै जिल्लाका परीक्षा केन्द्रमा प्रश्नपत्रसहित आवश्यक सामग्री पुगिसकेको बोर्डले जनाएको छ ।
चैत १९ गतेदेखि सुरु हुने परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने तालिका छ भने त्यसपछिका दिनहरूमा क्रमश: नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडीजस्ता विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ । अपाङ्गता भएका, सुत्केरी तथा विशेष अवस्थाका परीक्षार्थीलाई आवश्यक सहजीकरण गर्ने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।