प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन महत्वपूर्ण अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राखेपछि नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।
सरकारले नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकतर्फ बन्द सूचीमा समावेश गरिने जनसङ्ख्याको आरक्षणसम्बन्धी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएको जनाएको छ । यस्तै, आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्न अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ जारी गरेको थियो ।
त्यसैगरी, ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतबाट गृह मन्त्रालय अन्तर्गत ल्याउने व्यवस्था गरिएको गृहमन्त्री गुरुङले जानकारी गराए ।
बैठकले संविधानसभा सदस्य तथा पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा एवं राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११:०० बजे बस्नेछ ।