नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको हो । नयाँ मूल्य चैत २० गते मध्यराति १२ बजेदेखि लागू भएको छ ।
नयाँ समायोजनअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि यहाँ पेट्रोल १८७ रुपैयाँमा पाइन्थ्यो । त्यस्तै डिजल र मट्टितेलको मूल्य पनि १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
पहिलो वर्गमा रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार मूल्यवृद्धिपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।