राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।
सभामुख पदको निर्वाचन चैत २२ गते हुने तय भएको छ । त्यसका लागि संघीय संसद सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । दर्ता प्रक्रिया सम्पन्न भएपछि दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गरिनेछ ।
निर्वाचनका दिन बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ, जसमा प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकहरूले समर्थन जनाउनेछन् । त्यसपछि उम्मेदवारीमाथि सामूहिक छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसअघि रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित दुई तिहाइ बहुमत नजिक रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।
हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले बैठकको अध्यक्षता गर्दै आएका छन् ।