नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ र जमशेर मिया चुनावी मैदानमा उत्रिएका छन् । भोली चैत २१ गते हुने अधिवेशनमा अध्यक्ष पदका लागि सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ र चन्दौटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य मियाको उम्मेद्वारी परेको निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता धर्म खड्काले जानकारी दिए ।
कार्यसमितिको अन्य पदमा भने निर्विरोध भएको छ । प्रदेश समितिमा जिल्ला नगर उपाध्यक्ष पदमा दाङ उद्योग वाणिज्य संघका टंकसिंह बुढाथोकी, एशोसियट उपाध्यक्षमा पाल्पाका राजु महर्जन र कोषाध्यक्ष पदमा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने निर्बिरोध भएका छन् ।
त्यस्तै ५ खुल्ला कार्यसमिति सदस्य पदमा ३ जनाको मात्रै उम्मेद्वारी परेको छ । निर्वाचन आयुक्त खड्काका अनुसार कार्यसमिति सदस्य पदमा परासीका ओमप्रकास अग्रहरी, प्युठानका माधव भण्डारी र बासगढी बर्दियाका बद्रिनाथ बरालको उम्मेद्वारी परेको हो ।
त्यस्तै २ एशोसियट सदस्यमा सिद्धार्थ सिमेन्टका सौरभ अग्रवाल र सम्राट एग्रिगेटका युवराज पोखरेल तथा बस्तुत सदस्य पदमा नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीका कृष्णप्रसाद घिमिरेको उम्मेदवारी गरेको हो ।
भैरहवास्थित नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश सचिवालयमा आयोजना गरिएको प्रदेश सभा तथा निर्वाच बिहान साढे ९ बजेको लागि तय गरिएको छ । उद्घाटन पछि हुने बन्दसत्रमा अध्यक्षद्वारा सम्बोधन, गणपूरक संख्याको जानकारी, वार्षिक प्रतिवेदन प्रस्तुत, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति लगायतका एजेन्डा समावेश गरिएको छ ।