पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आबद्ध ट्रक व्यवसायीहरूले यातायात व्यवसायमैत्री एकीकृत कानुन बनाउन सरकारसँग माग गरेका छन् । तीनै तहका सरकारका फरक-फरक कानुनका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको उनीहरूको भनाइ छ ।
शुक्रबार सम्पन्न समितिको २५औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनमा वक्ताहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अव्यवस्थित भाडादर र नीतिगत अन्योलका कारण व्यवसायी मारमा परेको बताए । उनीहरूले सहज र व्यवहारिक कानुन निर्माण गरी व्यवसाय सञ्चालनलाई सरल बनाउनुपर्नेमा जोड दिए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र बानियाँले एकीकृत यातायात कानुनको अभावले व्यवसायी समस्यामा परेको उल्लेख गर्दै वैज्ञानिक भाडादर निर्धारण गर्न सरकारसँग आग्रह गरे । पूर्व अध्यक्ष अर्जुन रानाभाटले भारतीय ट्रकको निर्वाध प्रवेश र अत्यधिक भारवहनले नेपाली व्यवसाय संकटमा परेको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताए । उनले व्यवसायीको हितका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने योजना बनाएकाे बताए ।
समितिका अध्यक्ष टिकाराम गौतमले भारतीय सवारीसाधनको अनियन्त्रित सञ्चालनका कारण नेपाली व्यवसायी प्रभावित भएको बताए । ऋण तिर्न नसक्ने अवस्था बढ्दै जाँदा व्यवसायी पलायन हुने क्रम पनि तीव्र भएको उनले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी यातायात व्यबसायी समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्वासे, समितिका उपाध्यक्ष उज्वल केसी लगायतले भनाइ राखेका थिए । कार्यक्रम समितिका कार्यालय प्रमुख प्रकाश गैरेको सञ्चालनमा भएको थियो ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अध्यक्ष पदका लागि प्रतापबहादुर कार्की, पंकज राई र यामबहादुर जिसीबीच शनिबार निर्वाचन हुने भएको छ । यसअघि विभिन्न जिल्लाका उपाध्यक्षहरू भने निर्विरोध चयन भएकाे निर्वाचन आयुक्त महेन्द्र पाण्डेले जानकारी दिए ।