रुपन्देहीमा लागूऔषध कारोवारी समाउन गोली प्रहार : २ भारतीयसहित ३ जना पक्राउ

1.3K

रुपन्देहीमा लागूऔषध कारोवारी समाउन गोली प्रहार : २ भारतीयसहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूऔषध कारोबारी नियन्त्रण गर्ने क्रममा गोली प्रहार गरी २ भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका-४ कोटहवामा गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा गाेली चलाएर २ जनालाई पक्राउ गरिएकाे र उनीहरुकाे साथबाट ठूलाे परिमाणमा लागूऔषध बरामद गरिएको छ ।
प्रहरीले चलाएकाे गाेली लागेर राेहिणी गाउपालिका वडा नं. २ का विशाल यादव घाइते भएका छन् । यादवलाई बायाँ खुट्टाकाे पिडुलामा गाेली लागेकाे छ । गाेली लागेर घाइते भएका विशाल सहित प्रहरीले भारत महाराजगञ्ज, विष्णुपुराका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेकाे छ । प्रहरीका अनुसार घाइते यादवकाे भैरहवा स्थित भिम अस्पतालमा उपचार भइरहेकाे छ ।
गत शुक्रबार भारतबाट आउँदै गरेको युपि ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्ने र प्रहरी माथि नै ढुङ्गा प्रहार गरेपछि प्रहरीले गाेली चलाएकाे जनाएकाे छ ।
उनीहरू सवार मोटरसाइकलबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ ।
प्रहरीले उनीहरुकाे साथबाट १ हजार १ सय एम्पुल फेनार्गन, १ हजार १ सय एम्पुल डाइजेपाम र १ हजार १ सय एम्पुल बुप्रिन गरी ३ हजार ३ सय एम्पुल लागूऔषध बरामद गरिएकाे जनाएकाे छ ।
उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले नै प्रहरीमाथि ढुंगा प्रहार गरेका र स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि पनि आक्रमण जारी राखेपछि प्रहरीले थप गोली प्रहार गर्दा एक जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।