पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २५औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई मंगलबार एक समारोहका बीच पद हस्तान्तरण गरिएको छ ।
समितिका निवर्तमान अध्यक्ष टीकाराम गौतम नेतृत्वको कार्यसमितिले नवनिर्वाचित अध्यक्ष यामबहादुर जिसी नेतृत्वको कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जिसीले व्यवसायीबीच एकता कायम गर्दै व्यवसायीको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै पक्षको साथ र सहयोगको अपेक्षा समेत व्यक्त गरे ।
निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । शपथसँगै उनीहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । सो अवसरमा संयोजक पाण्डेले लोकतान्त्रिक प्रक्रियाबाट आएको नयाँ नेतृत्वले संस्थामा रहेका चुनौतीहरूलाई सामना गर्दै समितिलाई नमुना संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्ष पदका प्रत्याशीहरू प्रतापबहादुर कार्की र पंकज राईले नयाँ नेतृत्वलाई बधाई दिँदै व्यवसायीका पक्षमा सक्रिय र उत्तरदायी भएर काम गर्न शुभकामना व्यक्त गरे ।
यसैगरी, पूर्वअध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठले नयाँ नेतृत्वलाई व्यवसायीको संरक्षण तथा हकहितमा केन्द्रित भएर काम गर्न सुझाव दिए ।
कार्यक्रममा निवर्तमान महासचिव खिमबहादुर थापा नारायणले नवनिर्वाचित महासचिव बसन्त खड्कालाई माइन्युट हस्तान्तरण गरेका थिए भने निवर्तमान कोषाध्यक्ष शंकर लम्सालले नवनिर्वाचित कोषाध्यक्ष काशीराम पोखरेललाई चेकबुक हस्तान्तरण गरेका थिए ।
कार्यालय प्रमुख प्रकाश गैरेले नयाँ नेतृत्वले कर्मचारीहरूको मनोबल उच्च बनाउँदै सहकार्य र सहमतिका आधारमा संस्थालाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।