सवारी दुर्घटनाको जोखिम न्यूनीकरणमा भलाइ कोषको भूमिका प्रभावकारी

1.3K

सवारी दुर्घटनाको जोखिम न्यूनीकरणमा भलाइ कोषको भूमिका प्रभावकारी

सवारी दुर्घटनाबाट हुने ठूलो आर्थिक क्षतिबाट चालक, मजदुर र व्यवसायीलाई जोगाउन यातायात मजदुर तथा व्यवसायी भलाइ कोषले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूले बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित कोषको ५२औँ स्थापना दिवस तथा ४८औँ वार्षिक साधारणसभामा वक्ताहरूले सडक दुर्घटनाबाट सिर्जित आर्थिक जोखिम न्यूनीकरणका लागि कोष प्रभावकारी माध्यम बनेको उल्लेख गरे । दुर्घटनापछि एक व्यक्तिले ठूलो आर्थिक भार व्यहोर्न नसक्ने अवस्थामा कोषले गर्ने सहयोगले सर्वसाधारणलाई थप संकटमा पर्नबाट जोगाएको उनीहरूको धारणा थियो ।
साधारणसभाको उद्घाटन गर्दै काेषका पूर्वअध्यक्ष कुमार थापाले सवारी साधनको तीव्र वृद्धिसँगै सडक दुर्घटना गम्भीर राष्ट्रिय चुनौती बनेको बताए । देशभर सवारी साधनको संख्या ८० लाख नाघिसकेको उल्लेख गर्दै उनले विशेषगरी दुई पाङ्ग्रे सवारी साधनको अत्यधिक वृद्धिले दुर्घटना बढाएको बताए । सरकारी तथ्यांकअनुसार करिब ८० प्रतिशत दुर्घटनामा मोटरसाइकल संलग्न रहेको उनले जानकारी दिए । समस्या समाधानका लागि शक्तिशाली आयोग वा बोर्ड गठन आवश्यक रहेको उनको भनाइ थियो ।
संस्थाका अध्यक्ष दिनेश फुल्लेलले कोषले मजदुर र व्यवसायीको हितमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । देशभर २९ शाखा र ६८ कर्मचारीमार्फत सेवा दिइरहेको जानकारी दिँदै उनले आर्थिक वर्ष २०८२/८३ मा मात्रै १ हजार १३५ सवारी दुर्घटनामा आर्थिक, नैतिक र भौतिक सहयोग गरिएको बताए ।
उनका अनुसार यसै वर्षदेखि लुम्बिनी क्षेत्रका कपिलवस्तु, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लामा प्रथम पक्ष (ओडी) सवारीमा शतप्रतिशत लगानी सुरु गरिएको छ । हाल दुर्घटनामा घाइतेको उपचारका लागि ३ लाख रुपैयाँ र मृत्यु भएमा ५ लाख रुपैयाँ बीमा उपलब्ध हुने व्यवस्था रहेको उनले जानकारी दिए । उक्त रकम समयानुकूल वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात क्षेत्र संकटमा परेको उल्लेख गर्दै विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै मर्मत खर्च र पार्टपुर्जामा लाग्ने भन्सार शुल्कबारे सरकार गम्भीर हुनुपर्ने बताए ।
त्यसैगरी विभिन्न उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरूले सडक सुरक्षा सुदृढ गर्न साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा दुर्घटनामा ज्यान गुमाएका चालक खेमबहादुर सारुको परिवारलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो। साथै, २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारी सरस्वती ढकाल अर्याल र निर्मल शर्मा पाण्डेलाई सम्मान गरिएको थियो ।
यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका थिए । पूर्वअध्यक्ष कुमार थापाले कार्यक्रमको शुभारम्भ गर्दै रक्तदानजस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, सदस्य, कर्मचारी तथा मजदुर–व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कोषले स्थापना दिवसका अवसरमा विगतदेखि नै रक्तदान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । साथै, कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।