स्वास्थ्य क्षेत्रमा क्रियाशील पेसागत संगठनको चर्को दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा साताको दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ ।
सरकारको यस निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ । तर, आकस्मिक (इमरजेन्सी) तथा अन्तरंग (इनडोर) सेवाहरू भने पूर्ववत् २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि सरकार यस निर्णयमा सहमत भएको हो ।
दुई दिन ओपिडी सेवा बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता थप विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मीहरूलाई पनि अन्य सरकारी कर्मचारीसरह सातामा दुई दिन बिदा दिनुपर्ने माग गर्दै आएको थियो । उनीहरूले बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै आन्दोलनको चेतावनीसमेत दिएका थिए ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका थिए ।