प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
खड्काले काँग्रेस सांसद मोहन आचार्यको प्रस्ताव र सांसद जनकराज गिरीको समर्थनमा बिहीबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो । साथै, अन्य विपक्षी दल नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले पनि काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै सभापति खड्काले देशमा आर्थिक अनुशासनको स्पष्ट अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको समग्र विकासका लागि संघीय सरकारदेखि स्थानीय तहसम्म आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु अनिवार्य रहेको पनि बताए ।
साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र तथा लेखा समितिको नाममा काम ढिलाइ गर्ने प्रवृत्तिलाई अब दोहोरिन नदिने पनि उनले स्पष्ट पारे ।