संसदीय समितिमा सभापति चयन : अधिकांशमा रास्वपाको वर्चस्व

1.3K

संसदीय समितिमा सभापति चयन : अधिकांशमा रास्वपाको वर्चस्व

संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले सभापति चयनसँगै पूर्णता पाएका छन् । शुक्रबार सम्पन्न प्रक्रियामा १२ वटा समितिका सभापति चयन भएका हुन्, जसमा १० वटा समितिमा सर्वसम्मत र दुई वटा समितिमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।
सर्वसम्मत रूपमा चयन भएकामध्ये राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकाल निर्वाचित भए । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा चयन भइन् ।
त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत रूपमा सभापति बनेका छन् ।
यसैगरी, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भए । रास्वपाको समर्थन पाएपछि खड्काको एकल उम्मेदवारी परेको थियो ।
दुई समितिमा भने निर्वाचन भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की निर्वाचित भए । उनले नेकपाकी मदनकुमारी शाह (गरिमा)लाई पराजित गरेका हुन्।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भइन् । उनले नेकपा एमालेका गुरुप्रसाद बराललाई पराजित गरिन् ।
सभापति चयनसँगै संसदीय समितिहरूले पूर्णता पाएको र अब समितिहरूले विधायन तथा निगरानी सम्बन्धी कामलाई गति दिने अपेक्षा गरिएको छ ।