बुटवलमा फुटपाथ व्यवस्थापन : व्यवसायी संस्थाहरुको ध्यानाकर्षण

1.3K

बुटवलमा फुटपाथ व्यवस्थापन : व्यवसायी संस्थाहरुको ध्यानाकर्षण

बुटवल उपमहानगरपालिका र यस क्षेत्रमा क्रियाशील विभिन्न व्यवसायिक संघ–संस्थाबीच भएको सहमति कार्यान्वयनको क्रममा देखिएको व्यवहारप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।
बुटवलको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीको सहज आवागमनलाई ध्यानमा राख्दै सडक पेटी खाली गराउने निर्णय गरिएको भए पनि त्यसको कार्यान्वयन प्रक्रियामा असहजता देखिएको व्यवसायीहरूको भनाइ छ ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी विशेषगरी वैशाख ३ गतेदेखि बुटवलको बजार क्षेत्रका अमरपथ, विपी चोक, राममन्दिर लाइन लगायतका क्षेत्रमा व्यवसायिक प्रतिष्ठानमा बलपूर्वक ढंगले सामग्री हटाएको, बिना पूर्वसूचना स्टल तथा पसलका सामान उठाएको र अस्थायी संरचनासमेत हटाएको आरोप लगाएका छन् ।
यस्तो कार्यले व्यवसायीहरू त्रसित बनेको र यसले सहमतिको भावना विपरीत काम गरेको उनीहरूको दाबी छ । संयुक्त विज्ञप्तिमार्फत व्यवसायी संघहरूले बुटवलको सुन्दरता र व्यवस्थापनमा आफूहरू पूर्ण रूपमा सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका आधारमा अघि बढ्न आग्रह गरेका छन् । साथै, स्पष्ट मापदण्ड निर्माण गरी मात्र कार्यान्वयन गर्न र उठाइएका सामग्री सम्बन्धित व्यवसायीलाई तत्काल फिर्ता गर्न पनि माग गरिएको छ । उनीहरूले सहकार्य र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।