इक्यान रुपन्देहीमा शुभकामना आदान-प्रदान

1.3K

इक्यान रुपन्देहीमा शुभकामना आदान-प्रदान

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले टेबुल क्यालेन्डर बिमोचनसँगै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्यालेन्डर बिमोचन गर्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु)ले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले नयाँ वर्षले सम्पूर्ण सदस्यहरूमा ऊर्जा र प्रेरणा थप्ने विश्वास व्यक्त गरे । साथै, शैक्षिक परामर्शदाताहरूलाई व्यवस्थित बनाउन प्रदेशस्तरमै कानुन निर्माण आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस क्षेत्रप्रति सकारात्मक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।
इक्यानका प्रथम उपाध्यक्ष बासुदेव दाहालले शैक्षिक परामर्श व्यवसायलाई सामाजिक रूपमा महत्वपूर्ण सेवा भएको बताए । देशभरका तीन वटा प्रदेशले मात्र शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि अनुमति आवेदन खुलाएको उल्लेख गर्दै उनले लुम्बिनी प्रदेशले पनि यथाशीघ्र आवेदन प्रक्रिया अघि बढाउन आग्रह गरे ।
निवर्तमान अध्यक्ष गिरिराज पाण्डेले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्यविधि’ अनुसार अनुमति पत्र जारी गर्ने प्रक्रिया सुचारु गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गरे । उक्त प्रक्रिया सुरु भएमा शैक्षिक परामर्श क्षेत्र नियमनमा आउने र गुणस्तरीय सेवा प्रवाहमा टेवा पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा जेसर्ट बुटवलका व्यवस्थापक राजेन्द्र श्रेष्ठ, इक्यान रुपन्देहीका सल्लाहकार गोविन्दराज अधिकारी, निशानबाबु कार्की, टन्क पाण्डेलगायतले शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले सही परामर्शले विद्यार्थीलाई वैदेशिक अध्ययनमा सहजता ल्याउने भएकाले व्यवसायीहरूले जिम्मेवार र मर्यादित रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।
इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रामचन्द्र खरेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन उपाध्यक्ष दिपेश अर्यालले गरेका थिए । कार्यक्रममा इक्यानका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।