बुटवलमा मनाइयो जीतगढी उत्सव

1.3K

बुटवलमा मनाइयो जीतगढी उत्सव

बुटवलमा ऐतिहासिक जीतगढी किल्लामा सोमबार भव्य रूपमा जीतगढी उत्सव मनाइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उत्सवको उद्घाटन गरेका हुन् ।

वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष यो उत्सव आयोजना गर्दै आएको छ । युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा हासिल गरिएको उक्त विजयले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’का रूपमा चिनाएको इतिहासमा उल्लेख छ ।

उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्द्धन तथा वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

तिनाउ नदी किनारस्थित जीतगढी क्षेत्रमा भएको उक्त युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए । युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार सो युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।

युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गरेका थिए । विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको र अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम छ ।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित यो किल्ला सेनकालीन समयमा १६ औँ शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जितगढी’ रहन गएको स्थानीय जानकार बताउँछन् ।

जितगढी किल्लाको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा बढी रकम खर्च गरेको छ भने बुटवल उपमहानगरपालिकाले पनि हरेक वर्ष उत्सव आयोजना गर्दै संरक्षणका विभिन्न कामहरू गर्दै आएको छ ।

सोमबारको उत्सवमा बुटवलका विभिन्न समुदायले झाँकी प्रस्तुत गरेका थिए भने नेपाली सेनाले आकर्षक युद्धकला प्रदर्शन गरेको थियो ।