गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । पछिल्ला दिनहरूमा विभिन्न विवाद र आलोचनामा परेका उनले बुधबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
गुरुङको राजीनामापछि गृह मन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाह ले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ नियुक्ति नभएसम्म उक्त मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहनेछ ।
विवादित व्यापारीसँग साझेदारी रहेको विषय सार्वजनिक भएसँगै गुरुङमाथि प्रश्न उठ्न थालेका थिए । साथै, सम्पत्ति विवरण अस्वाभाविक रहेको, माइक्रो इन्स्योरेन्सलगायत विभिन्न क्षेत्रमा गरेको लगानीबारे स्पष्टता नदेखिएको तथा सामाजिक संस्था मार्फत आएको सहयोग रकम व्यक्तिगत खाताबाट सञ्चालन गरिएको आरोप पनि उनीमाथि लागेको थियो ।
यी विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग बढ्दै गएपछि गुरुङले राजीनामा दिन बाध्य भएका हुन् । सरकार गठन भएकै दिन गृहमन्त्री नियुक्त भएका गुरुङ २६ दिनमै सरकारबाट बाहिरिएका छन् ।