प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंका नदीकिनारमा रहेका जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । हरेक वर्ष आउने बाढीका कारण हजारौँ मानिस विस्थापित हुनुपरेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले नदी तथा खोला किनारमा बसोबास गर्दा जनजीवन जोखिममा पर्ने मात्र नभई ढल निकास प्रणालीसमेत अवरुद्ध भई उपत्यकाको वातावरण प्रदूषित भइरहेको उल्लेख गरे । त्यसैले मानवीय दृष्टिकोण अपनाउँदै बल प्रयोग नगरी सुरक्षित व्यवस्थापन गरिने उनले स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले विगतमा गरेका प्रतिबद्धता, सरकारका प्राथमिक कार्यसूची तथा सुकुम्बासी व्यवस्थापनसम्बन्धी योजनालाई कार्यान्वयन गर्ने तयारी भइरहेको बताउँदै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर देशभरका भूमिहिन सुकुम्बासी परिवारलाई जग्गा वितरण गर्ने प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।
उनले वर्षौँदेखि दोहोरिँदै आएको समस्यालाई स्थायी रूपमा समाधान गर्ने सरकारको लक्ष्य रहेको बताउँदै नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन् ।