तराईका जिल्लामा तातो लहरको चेतावनी : उच्च सतर्कता अपनाउन अपिल

1.3K

तराईका जिल्लामा तातो लहरको चेतावनी : उच्च सतर्कता अपनाउन अपिल

देशका तराईका जिल्ला तथा भित्री मधेश क्षेत्रमा तातो दिन र तातो लहर (हट वेभ) को सम्भावना देखिएकाे छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विशेष बुलेटिन जारी गरि पछिल्ला केही दिनदेखि मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा होचो भू-भागमा अत्यधिक गर्मीको प्रभाव देखिएको जनाएकाे छ ।
विभागले आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने जनाएको छ । यसका कारण ती क्षेत्रमा विशेष सतर्कता अपनाउन अपिल गरिएको छ ।
कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेत जिल्लालाई उच्च सतर्कताकाे सूचीमा राखिएकाे छ ।
त्यस्तै डडेल्धुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासी लगायतका जिल्लालाई अद्यावधिक रहनु पर्ने श्रेणीमा राखिएकाे छ ।
अत्यधिक गर्मीका कारण टाउको दुख्ने, थकान, कमजोरी, छाला पोल्ने, चक्कर आउने, बेहोस हुनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । विशेषगरी बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
विभागले तातो लहरबाट बच्न अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, घाममा लामो समय नबस्न, हल्का र फुस्रा कपडा लगाउन, टाउको छोप्न, प्रशस्त पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ । साथै, चिसो स्थानमा बस्न र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरिएको छ ।