पश्चिम नवलपरासीमा जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको गम्भीर आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव संजयकुमार चौधरी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो । यसअघि नै घटनामा संलग्न रहेको आरोपमा ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन् ।
अनुसन्धानबाट अन्सारीले आफ्नै पिताको मृत्यु भएको भन्दै अर्का ६६ वर्षीय व्यक्तिको नाममा गत वर्ष मङ्सिर ७ गते वडा कार्यालयमा झुट्टा मृत्यु दर्ता गराएको खुल्न आएको छ । तर, उनका पिताको वास्तविक मृत्यु भने २०६० सालमै भइसकेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
घटना सार्वजनिक भएपछि मृत्यु दर्तामा नाम उल्लेख गरिएका व्यक्तिका परिवारले गत वर्ष चैतमा उजुरी दिएका थिए । सोही प्रकरणमा मृत्यु दर्ता मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने अन्य ७ जना फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।