जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको औंल्याउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले जारी गरेको “हावाहुरी सम्बन्धी चेतावनी” अनुसार आज अपराह्नदेखि भोलि बिहानसम्म हावाहुरीको प्रभाव रहने छ ।
विभागको मौषम पूर्वानुमान महाशाखाकानुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र पाल्पा, गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवन आसपासका क्षेत्र, मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।
हावाहुरी आज बुधबार दिउँसो ४ बजेदेखि सुरु भई बिहिबार बिहान करिब ७ बजेसम्म प्रभाव रहने अनुमान गरिएको छ । मेघगर्जन, चट्याङ तथा असिनासहितको वर्षा प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा रहेकाले देशका धेरै स्थानमा यसको असर पर्ने देखिएको छ ।
हावाहुरीका कारण कमजोर संरचना, टिनका छाना, होर्डिङ बोर्ड, रुख तथा विद्युत् संरचनामा क्षति पुग्न सक्ने, साथै जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । यस्तै, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।