तिलोत्तमा नगरपालिकाले नागरिकलाई सस्तो र शुलभ रुपमा औषधि उपलब्ध गराउनेगरी शलभ फार्मेसी सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिका र बुट्स मेडिको प्रा.लि.बिच सम्झौता गरी वडा नं. ५ मणिग्राममा उक्त फार्मेसी सञ्चालन गरिएको हो ।
उक्त शुलभ फार्मेसीको बुधबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका हुन् । त्यस अवसरमा बोल्दै नगरप्रमुख खाणले आम नागरिकलाई शुलभ र सस्तो मुल्यमा औषधि उपलब्ध गराउने गरी नगरपालिकाले कानुनी प्रावधान बनाएर औषधि पसल सञ्चालनमा ल्याईएको बताए ।
उनले आगामी दिनमा अरु प्रकारका सेवामा समेत यस्ता कदम चालिने प्रतिवद्धता व्यक्त गर्दै नगरपालिका र फार्मेसी सञ्चालक कम्पनी बुट्स मेडिको प्रालि बिच भएको सम्झौता अनुसार फार्मेसी सञ्चालन गर्न आग्रह गरे ।
त्यस्तै उपप्रमुख जागेश्वरीदेवी चौधरीले पनि औषधिमा नागरिकको पहुँच विस्तार गर्न र सर्वशुलभ रुपमा औषधि उपलब्ध गराउनको लागि फार्मेसी सञ्चालनमा ल्याईएको बताईन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमराज भुसालका अनुसार अधिकृत मुल्य (एम.आर.पि.)मा २५.१० प्रतिशत छुट दिनेगरी ५ वर्षको लागि शुलभ फार्मेसी सञ्चालनको लागि बुट्स मेडिको प्रा.लि.संग सम्झौता गरिएको हो । त्यसवापत नगरपालिकाले भाडा रकम भुक्तानी गर्नेछ । अनुका अनुसार नगरपालिकाले वार्षिक करिव २ लाख ५० हजार रुपैंया भाडा तिर्नुपर्नेछ । त्यसबाहेक कर्मचारी व्यवस्थापन, औषधि खरिद लगायतका बाँकी सबै काम बुट्स मेडिकोले गर्नेछ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका रुस्तम कंडेल, नेपाली काँग्रेसका हरिलाल पाण्डे, एमालेका मिनप्रसाद पोखरेल, व्यापार संघका नेत्र न्यौपाने, स्वास्थ्य शाखा प्रखुम रामप्रसाद ढकाल लगायतले तिलोत्तमा नगरपालिकाले सस्तो मुल्यमा नागरिकलाई औषधि उपलब्ध गराउने गरी शुलभ फार्मेसी सञ्चालन गरेर उदाहरणीय काम गरेको प्रतिक्रिया दिए । उनीहरु औषधिसंग अन्य सेवामा समेत यस्ता कदम चाल्न आग्रह गरेका थिए ।