रुपन्देही व्यापार संघको आयोजनामा व्यवसायीसँग सम्बन्धित समसामयिक विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीबार संघको सचिवालयमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले राजस्व, भन्सार, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विविध जिज्ञासा राखे पनि मुख्य छलफल सरकारद्वारा हालै लागू गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी नीतिमै केन्द्रित रह्यो । उनीहरूले विदेशबाट आयात गरी नेपालमा बिक्री हुने सम्पूर्ण वस्तुमा पैठारीकर्ताले अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्नु अव्यवहारिक भएको धारणा व्यक्त गरे ।
व्यवसायीहरूले कच्चा पदार्थ, मेशिनरी, औजारजस्ता औद्योगिक वस्तु तथा फलफूल, तरकारीजस्ता छिटो बिग्रिने वस्तुमा एमआरपी लागू गर्न जटिल हुने बताए । मौज्दात (स्टक) मा रहेका सामग्री, ढुवानी लागत तथा वस्तुको प्रकृति अनुसार मूल्य निर्धारण फरक हुने भएकाले यसलाई एकै ढाँचामा लागू गर्न कठिन हुने उनीहरूको भनाइ थियो । सरकारले जबर्जस्ती कार्यान्वयन गर्न खोज्दा व्यवसायीहरू त्रसित हुने अवस्था सिर्जना हुन सक्ने बताएका छन् ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नीतिहरू निर्माण गर्दा व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले बजेट, नीति तथा आर्थिक ऐन निर्माणका क्रममा यस्ता विषयलाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्ने बताए । उनले निजी क्षेत्रसँग समन्वय र सहकार्य नगरी आर्थिक समृद्धि सम्भव नहुने धारणा राखे ।
अन्तरक्रियामा नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रमेश आचार्य, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत राधेश्याम दाहाल, आन्तरिक राजस्व कार्यालय बुटवल तथा भैरहवाका प्रमुख कर अधिकृतहरू, वाणिज्य तथा आपूर्ति कार्यालय, इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि लगायतले उठेका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको धन्यवाद तथा महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा भएको थियो ।