डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

1.3K

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद् बैठकले उनको नाम प्रधानन्यायाधीशका लागि अघि सारेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।
हाल कामु प्रधानन्यायाधीश रहेकी सपना प्रधान मल्ल सहित वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाल लाई पछि पार्दै शर्माको नाम सिफारिस गरिएको हो । पर्सामा २०२७ असार ४ गते जन्मिएका शर्मा २०९२ असार ३ गते ६५ वर्ष पुग्नेछन् । संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनले पूर्ण ६ वर्ष कार्यकाल सम्हाल्ने अवसर पाउनेछन् । यसअनुसार उनी २०८९ वैशाखसम्म प्रधानन्यायाधीश पदमा रहनेछन् ।
शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । उनले नेपाल ल क्याम्पस बाट कानुनमा स्नातक तथा पुने विश्वविद्यालय बाट कानुनमा स्नातकोत्तर गरेका छन् । श्रम कानुनसम्बन्धी विषयमा उनले विद्यावारिधि समेत गरेका छन् ।
यसअघि पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्यरत शर्मा अस्थायी न्यायाधीश व्यवस्था हटेपछि अवकाशमा परेका थिए । पछि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश रहेका बेला उनी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए ।