याे वर्षकाे मनसुनी अवधिमा नेपालमा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएकाे छ । जल तथा माैषम विज्ञान विभागले याे वर्षकाे मनसुनी अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने तथा तापक्रम सरदरभन्दा बढी रहने आँकलन सार्वजनिक गरेको छ ।
विभागले जेठ १८ देखि असोज १४ सम्मको मनसुन अवधिका लागि जलवायु विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू-भाग तथा कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जानकारी गराएकाे हाे ।
त्यस्तै सुदूरपश्चिमका अधिकांश भू-भाग, मधेशका पश्चिमी क्षेत्र तथा कोशीका मध्य भू-भागमा पनि कम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र कोशी प्रदेशका उत्तरी भू-भागमा भने सरदर वर्षा हुने सम्भावना रहेको छ । बाँकी अधिकांश भू-भागमा पनि सरदरभन्दा कम वर्षाको सम्भावना देखिएको छ ।
विभागले मनसुन अवधिभर देशभर अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
न्यूनतम तापक्रमतर्फ पनि सुदूरपश्चिम, कर्णाली र बागमतीका उत्तरी भू-भाग, मधेशका पूर्वी क्षेत्र तथा कोशीका दक्षिणी भू-भागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना रहेको छ ।
विभागका अनुसार विश्व मौसम संगठनअन्तर्गतका क्षेत्रीय जलवायु केन्द्रहरूको आँकलन, प्रशान्त महासागरमा विकसित हुने एल-निनो तथा हिन्द महासागरको अवस्थासहित विभिन्न मौसमी प्रणालीहरूको अध्ययनका आधारमा यो प्रक्षेपण गरिएको हो । यद्यपि, मौसम प्रणाली निरन्तर परिवर्तनशील हुने भएकाले ऋतुगत पूर्वानुमान पूर्ण निश्चित नहुने पनि विभागले स्पष्ट पारेको छ ।