संघीय संसद्को बजेट अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानअनुसार अपराह्न ४ बजे राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
संविधानमा प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
संसद् सचिवालयले संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई आग्रह गरेको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी सदनलाई गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयनसम्बन्धी कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गरिनेछ भने नियमावली मस्यौदा पनि प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सरकारले जारी गरेका विभिन्न अध्यादेश पनि संसद्मा पेस हुनेछन् । ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गरिने कार्यसूची रहेको छ ।