नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) बुटवलकाे अध्यक्षमा भिमबहादुर दर्लामी निर्वाचित भएका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) बुटवल नगर कार्य समितिको बुधबार सम्पन्न १५औँ वार्षिक साधारणस तथा पाँचौ अधिवेशनबाट दर्लामीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा मिनबहादुर राना, महिला उपाध्यक्षमा भागमनी चाैधरी, सचिवमा जितबहादुर थापा, सहसचिवमा पंकजकुमार मल्लाह र काेषाध्यक्षमा दुर्गाप्रसाद आचार्य रहेका छन् । ११ सदस्यीय कार्यसमितिकाे सदस्यहरुमा गीतादेवी राव चमार, दुर्गा चाैधरी, पतिराम चाैधरी, प्रेमबहादुर पुन र शालिकराम पाण्डेलाई चयन गरिएकाे निर्वाचन समितिका संयाेजक खिमानन्द भट्टराईले जानकारी दिए ।
कार्यक्रममा श्रमिक अधिकार संरक्षण, संगठन विस्तार र श्रमिक कल्याणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रममा संघका नगर अध्यक्ष तिलबहादुर हिस्कीले श्रमिकहरुको हकहितका लागि संघ निरन्तर सक्रिय रहेको बताए । उनले स्थापना कालदेखि श्रमिकहरुलाई राहत, परिचयपत्र वितरण तथा विभिन्न सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समयअनुकूल कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले असक्त श्रमिकलाई आर्थिक सहयोग, सम्मान कार्यक्रम तथा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरिने जानकारी समेत दिए ।
कार्यक्रममा बाेल्दै काउनका केन्द्रीय निवर्तमान अध्यक्ष जे. बी. गुरुङले निर्माण मजदुरहरुकाे हकहित तथा उनीहरुकाे सामाजिक सुरक्षाका लागि काउने उल्लेखनीय काम गरेकाे बताउँदै स्थानीय देखि केन्द्री समितिसम्मले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी, लुम्बिनी प्रदेश सचिव खगेन्द्र पौडेल, जिल्ला कावा अध्यक्ष माेहनी चाैधरी, प्रदेश सदस्य राजाराम मुरइ, भिमबहादुर दर्लामी लगायतले भनाई राखेका थिए ।
साधारण सभामा नगर अध्यक्ष तिलबहादुर हिस्कीले वार्षिक, सचिव जयसिंह चाैधरीले संगठनात्मक तथा काेषाध्यक्ष दुर्गाप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका सचिव चौधरीका अनुसार संघले श्रमिकहरुलाई संगठित गर्दै अनुगमन, मुद्दा, सटरिङ, मिक्स्चर मेसिन, महिला तथा लेखा उपसमिति गठन गरी श्रमिक र निर्माण व्यवसायीबीच देखिने समस्या समाधान गर्ने काम भइरहेको छ । निर्माण क्षेत्रमा कार्यरत मिस्त्री, हेल्पर तथा कन्ट्र्याक लिडरहरुलाई परिचयपत्र वितरण, इजाजतपत्र नवीकरण तथा अनुगमन प्रणालीलाई व्यवस्थित बनाइएको छ ।
त्यसअवसरमा संस्थामा याेगदान गरेका र कार्यसमितिका पदाधिकारी सदस्यहरु र रक्दानमा याेगदान गर्नेलाई सम्मान गरिएकाे थियाे ।