ट्रम्पसँगै विश्वको ध्यान बेइजिङमा

1.3K

ट्रम्पसँगै विश्वको ध्यान बेइजिङमा

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङफिन बीच आज बिहीबार बेइजिङमा हुने भेटवार्ताले विश्व राजनीति र अर्थतन्त्रको ध्यान चीनतर्फ केन्द्रित भएको छ । ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि चीन भ्रमणमा जान लागेको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।
यसअघि ट्रम्पले पहिलो कार्यकालमा सन् २०१७ मा चीन भ्रमण गरेका थिए । पछिल्लोपटक सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा दुई नेताबीच भेट भएको थियो । उक्त भेटपछि अमेरिकाले चीनमाथि लगाएको भन्सार शुल्क केही घटाएको थियो भने चीनले पनि दुर्लभ खनिज धातु निर्यातसम्बन्धी कडाइ खुकुलो बनाएको थियो ।
यसपटकको भेट भने जटिल भू-राजनीतिक अवस्थाबीच हुन लागेको छ । इरान युद्ध, ताइवान विवाद, दुर्लभ खनिज आपूर्ति, व्यापार असन्तुलन र प्रविधि नियन्त्रणजस्ता विषय वार्ताको केन्द्रमा रहने अपेक्षा गरिएको छ । इरानमाथिको अमेरिकी हस्तक्षेपप्रति चीनले असन्तुष्टि जनाउँदै आएको छ । इरान चीनको रणनीतिक साझेदार भएकाले मध्यपूर्वको अस्थिरताले चीनको ऊर्जा सुरक्षामा समेत असर पार्ने देखिएको छ ।
अमेरिका र चीनबीच रणनीतिक प्रतिस्पर्धा चर्किए पनि दुवै मुलुक व्यापारिक सम्बन्धलाई थप बिग्रन दिन नहुने निष्कर्षमा पुगेका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावले विश्वव्यापी आपूर्ति श्रृंखला, ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष असर पार्दै आएको छ ।
ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि भन्सार बढाएपछि चीनले अमेरिकामाथिको निर्भरता घटाउन अन्य देशसँग व्यापारिक सम्बन्ध विस्तार गरिरहेको छ । चीनले आफूलाई “स्थिर र भरपर्दो साझेदार” का रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । सन् २०२६ को पहिलो दुई महिनामै चीनको निर्यात २१.८ प्रतिशतले बढेको तथ्यांकले पनि चीनले नयाँ बजार विस्तार गरिरहेको संकेत दिएको छ ।
भेटवार्तामा ताइवानको विषय पनि प्रमुख एजेन्डा बन्नेछ । चीनले ताइवानलाई आफ्नो भू-भाग मान्दै आएको छ भने अमेरिकामाथि त्यहाँ हस्तक्षेप गरिरहेको आरोप लगाउने गरेको छ । ट्रम्पले समेत ताइवानको मुद्दा वार्तामा प्रमुख रूपमा उठ्ने संकेत दिएका छन् ।
ट्रम्पको भ्रमण टोलीमा एलाेन मस्क, टिम कुक लगायत १६ प्रतिष्ठित अमेरिकी कम्पनीका प्रमुख सहभागी छन् । दुर्लभ खनिज आपूर्ति, बोइङ विमान खरिद, कृषि उत्पादन आयात, कृत्रिम बुद्धिमत्ता र विद्युतीय गाडी बजार पहुँचका विषयमा समेत दुई देशबीच महत्वपूर्ण सहमति खोजिने अपेक्षा गरिएको छ ।