माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएसँगै विद्यार्थी र अभिभावकहरूमा अब कुन कलेज रोज्ने भन्ने चासो चिन्ता बढ्न थालेको छ । गुणस्तरीय शिक्षाका लागि धेरै विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं या अन्य शहरतर्फ जाने सोंच पनि बनाईरहेका होलान् । तर बुटवलमै सबै विषयमा गुणस्तरीय शिक्षा सहितका उत्कृष्ट प्लस–टुहरु बुटवल तथा आसपासमै रहेको शिक्षाविद्हरू बताउँछन् ।
शिक्षा क्षेत्रमा भएको तीव्र विकाससँगै बुटवल अब ‘उच्च शिक्षा अध्ययनका लागि बाहिर जानैपर्ने शहर’ नभई आफ्नै ठाउँमा भविष्य निर्माण गर्न सकिने शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ । बुटवल तथा आसपासका विद्यालयहरूले विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी तथा विभिन्न प्राविधिक धारका विषयमा प्रभावकारी पठनपाठन गर्दै आएका छन् ।
अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, अतिरिक्त क्रियाकलाप तथा राम्रो शैक्षिक वातावरणका कारण बुटवल अहिले प्लस–टु मात्रै होईन समग्र शैक्षिक हवको रुपमा विकास भएको छ । यसले आसपासका विद्यार्थीलाई समेत आकर्षण गरिरहेको छ । सरकारी विद्यालयतर्फ कालिका मानवज्ञान माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय र नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय लगायत विद्यालयहरुले उत्कृष्ट नतिजा दिँदै आएका छन् ।
त्यसैगरी निजी क्षेत्रतर्फ तिलोत्तमा कलेज, दीप बोर्डिङ हाई स्कूल, होराइजन, एभरेष्ट बोर्डिङ स्कूल, मणिमुकुन्द माध्यमिक विद्यालय, अक्सफोर्ड माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय तथा त्रिभुवन युनाइटेड एकेडेमी लगायत शैक्षिक संस्थाहरूले पनि प्रतिस्पर्धी क्षमताका जनशक्ति उत्पादन गरिरहेका छन् ।
बुटवलसहित तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह लगायतका पालिकाहरुमा पनि उत्कृष्ट शैक्षिक गन्तव्यहरु छन् । शिक्षकहरूका अनुसार बुटवलमै अध्ययन गर्दा विद्यार्थीले पारिवारिक वातावरणमा बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने, अतिरिक्त खर्च कम हुने तथा सुरक्षित शैक्षिक वातावरण पाउन सक्नेछन् । पछिल्ला वर्षहरूमा यहाँका विद्यालयहरूले राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएकाले पनि विद्यार्थीको विश्वास बढ्दै गएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।
(तस्वीर एआईद्वारा निर्माण गरिएको हो ।)