ट्रम्प-सी वार्ता : के-के भए कुरा ?

1.3K

ट्रम्प-सी वार्ता : के-के भए कुरा ?

चीनका राष्ट्रपति सीचिनफिन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीच बेइजिङमा भएको उच्चस्तरीय वार्ताले विश्व राजनीति फेरि तातेको छ । करिब एक दशकपछि आमनेसामने भएका दुई शक्तिशाली नेताबीच व्यापार, प्रविधि, ताइवान, सामरिक प्रतिस्पर्धा र विश्व शान्तिका विषयमा गम्भीर छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बाहिरबाट हेर्दा अमेरिका र चीन एकअर्काका कट्टर प्रतिस्पर्धी जस्ता देखिए पनि दुवै नेताको राजनीतिक नारामा समानता देखिन्छ । सी चिनफिङले चिनियाँ राष्ट्रको महान पुनरोदयको अवधारणा अघि सारेका छन् भने ट्रम्प मेक अमेरिका ग्रेट अगेन अर्थात् अमेरिकालाई फेरि महान बनाउने अभियानका कारण चर्चित छन् ।
वार्तामा सबैभन्दा संवेदनशील विषय ताइवान बनेको छ । अमेरिकाले ताइवानसँग अर्बौं डलर बराबरको हतियार सम्झौता गरेपछि चीन असन्तुष्ट छ । वार्ताका क्रममा सीले ट्रम्पलाई ताइवानको विषयमा अमेरिकाले कमजोर ढंगले व्यवहार गरे द्विपक्षीय सम्बन्धमा तनाव बढ्ने चेतावनी दिएको बताइएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने अमेरिकाले ताइवानको सुरक्षा र स्वायत्तताको पक्षमा समर्थन जनाउँदै आएको छ ।
सीले अमेरिकासँगको सम्बन्धलाई रचनात्मक, रणनीतिक र सामान्यतया स्थिर रहेको बताएका छन् । उनले व्यापारिक तथा कूटनीतिक सम्बन्ध दुवै पक्षलाई हित हुने गरी अघि बढाउनुपर्ने धारणा राखेका थिए । उता ट्रम्पले पनि चीनसँग साझा हितका क्षेत्रमा सहकार्य गर्न सकिने संकेत दिएका छन् ।
चीन-अमेरिका सम्बन्ध अहिले व्यापार र प्रविधि प्रतिस्पर्धाका कारण पनि तनावपूर्ण बनेको छ । अमेरिकाले चीनमाथि उच्चस्तरीय चिप तथा एआई प्रविधिमा प्रतिबन्ध लगाएको छ भने चीनले दुर्लभ खनिजको निर्यात रोक्न सक्ने चेतावनी दिइरहेको छ । यही कारण अहिलेको वार्तालाई विश्व अर्थतन्त्रसँग जोडेर हेरिएको छ ।
ट्रम्पको भ्रमणमा विभिन्न अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू पनि सहभागी छन् । यसले वार्ता केवल राजनीतिक नभई आर्थिक र व्यापारिक हितसँग प्रत्यक्ष जोडिएको स्पष्ट देखिन्छ । ट्रम्पले चीनसँग व्यापारिक सम्बन्ध सुधार गर्न खोजे पनि उनले लगाएका उच्च भन्सार कर कायमै राख्ने वा नरम हुने भन्ने विषय अझै खुलिसकेको छैन ।
वार्तामा पश्चिम एसियाको तनाव र युद्धको विषय पनि उठेको बताइएको छ । ट्रम्पले व्यापार र सामरिक स्थिरतालाई प्राथमिकता दिएका थिए भने सीले युद्ध रोक्नुपर्नेमा जोड दिएका थिए ।
ट्रम्पले सार्वजनिक रूपमा सीलाई महान नेता र साथी भन्दै प्रशंसा गरेका छन् । तर यिनै ट्रम्पले केही वर्षअघि चीनले अमेरिकालाई आर्थिक रूपमा ठगिरहेको आरोप लगाएका थिए ।
विश्वको चासो अहिले एउटै प्रश्नमा केन्द्रित छ– अमेरिका र चीन व्यापारिक तथा सामरिक टकरावबाट सहकार्यतर्फ जान्छन् कि नयाँ तनावतर्फ ?