पाल्पामा पूर्ण संस्थागत प्रसुति र पूर्णखोप सुनिश्चितता

1.3K

पाल्पामा पूर्ण संस्थागत प्रसुति र पूर्णखोप सुनिश्चितता

पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पालाई औपचारिक रूपमा घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई दीगो बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले प्रदेशकै महत्वपूर्ण केन्द्रका रूपमा विकास भइरहेको उल्लेख गर्दै मिसन अस्पताल, मेडिकल कलेज तथा जिल्ला अस्पतालमार्फत सरकारी र निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको भनाई राखे ।
मुख्यमन्त्री आचार्यले जिल्ला अस्पतालको जग्गा व्यवस्थापनका विषयमा विगतदेखि छलफल भइरहेको उल्लेख गर्दै संघीय सरकारको मापदण्ड पूरा गर्नुपर्ने भएकाले प्रक्रिया केही जटिल बनेको बताए । उनले ५० शैयाको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने भनाई राखे ।
आगामी बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइने उल्लेख गर्दै प्रदेशभित्रै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने दिशामा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । पूर्णखोप तथा संस्थागत प्रसुति सेवाको उपलब्धिलाई निरन्तर कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै सेवा अवधिपछि सम्मानस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको जानकारी पनि दिइएको थियो ।