सिद्धार्थ गौतम बुद्ध क्याम्पसद्वारा ५ दिने नवचेतना कार्यक्रम सम्पन्न

1.3K

सिद्धार्थ गौतम बुद्ध क्याम्पसद्वारा ५ दिने नवचेतना कार्यक्रम सम्पन्न

बुटवलकाे सिद्धार्थ गौतम बुद्ध क्याम्पस को आयोजनामा पाँच दिने नवचेतना कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको इएमएसएस कमिटि र बुटवल उपमहानगरपालिका वडा नम्बर १८ को संयोजनमा पोखराबारीमा सञ्चालन गरिएको कार्यक्रम शुक्रबार समापन गरिएको हो ।
वैशाख २ गतेदेखि सुरु भएको कार्यक्रममा वडा नम्बर १८ अन्तर्गतका विभिन्न टोलबाट करिब ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा योग, ध्यान, सकारात्मक सोच, नेतृत्व विकास तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको क्याम्पसले जनाएको छ ।
कार्यक्रममा वाइएलटि प्रशिक्षक विद्यार्थी मनिषा केसी र माया गाहा तथा आर्ट अफ लिभिङका योग प्रशिक्षक उप–प्राध्यापक मनोजप्रसाद सापकोटाले सहजीकरण गर्दै सहभागीलाई व्यवहारिक तथा प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै इएमएसएस कमिटि संयोजक उप–प्राध्यापक शेषकान्त अर्यालले सिद्धार्थ गौतम बुद्ध क्याम्पस अध्ययन–अध्यापनसँगै अतिरिक्त तथा सामाजिक गतिविधिमा पनि अग्रणी संस्था रहेको बताए । उनले क्याम्पसले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा समुदाय केन्द्रित गतिविधि निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गरे । आगामी दिनमा समाज रूपान्तरण र युवाको सकारात्मक सहभागिताका लागि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ थियो ।

कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष गुरुप्रसाद पंगेनीले यस्ता नवचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले समुदायस्तरमा सञ्चालन गरिएका यस्ता कार्यक्रम प्रशंसनीय रहेको धारणा राखे ।
सहभागीका तर्फबाट गोपाल नेपाल र मञ्जु काफ्लेले कार्यक्रम अत्यन्त फलदायी र प्रभावकारी भएको प्रतिक्रिया दिए । उनीहरूले यस्ता गतिविधिले सकारात्मक चेतना, व्यक्तित्व विकास तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए ।
कार्यक्रममा सहभागीहरूले पाँच दिने प्रशिक्षणले सकारात्मक सोच, आत्मअनुशासन र मानसिक सशक्तीकरणको भावना विकास गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए । समापनसँगै स्थानीयवासीले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा समाज रूपान्तरणमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेकाे क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक उप–प्राध्यापक तीर्थराज काफ्ले जानकारी दिए ।